सैनिक हिरासतमा बसेर आएको मान्छे प्रहरीसँग डराउँदिन, बढीमा २४ दिन थुन्ने होइन : दुर्गा प्रसाईं

२०८१ आश्विन २, बुधबार

काठमाडाैं : व्यवस्था परिवर्तन गर्न भन्दै आन्दोलन गरिरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरेको आरोप लगाएका छन् ।

नडराउने उनले बताए । बुधवार साँझ आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रसाईंले बिहीवारका लागि सर्लाहीका तय गरिएको कार्यक्रमबाट डराएर सरकारले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको आरोप लगाएका हुन् ।

‘भोलि संविधान दिवसको दिन सर्लाहीको लालबन्दीमा विशाल कार्यक्रम राखेका थियौं, १ लाख मानिस उपस्थित हुने देखेपछि मलाई पक्राउ पुर्जी जारी गरिएको छ,’ प्रसाईंले भने, ‘प्रचण्डको नेतृत्वमा सरकार रहुन्जेल मलाई पक्राउ पुर्जी जारी भएन । केपी ओलीको कार्यकाल राणाकालभन्दा खतरा भयो । बोल्न नपाइने, यही हो लोकतन्त्र ?’

प्रहरीको साइबर व्युरोमा परेको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले बुधवार प्रसाईंलाई पक्राउ पुर्जी जारी गरेको थियो । ‘मैले कसैको नाम लिएर बोलेको छैन, प्रतिशोध साँध्न मात्र पक्राउ गर्न लागिएको हो । उपरवालाले यसको हिसाब–किताब गर्छन्,’ उनले भने । प्रसाईंले आफू गणतन्त्रका लागि सैनिक हिरासतमा बसेको भन्दै प्रहरीसँग नडराउने बताए । ‘म डराउँदिन, बलात्कारको आरोप लागेर लगेको भए बेइज्जत हुन्थ्यो । प्रहरीले कति दिन थुन्छ मलाई, बढीमा २४ दिन होइन ? त्यसपछि म आइहाल्छु,’ प्रसाईंले भने ।

उनले जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीविरुद्ध आफू उच्च अदालतमा जानेबारे कानूनी परामर्श गरिरहेको बताए । प्रसाईंका सहयोगीहरूले घर बाहिर प्रहरीले निगरानी बढाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार