काठमाडौँ : नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै बिहीबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो ।
सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका अनुसार प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउनेछन् ।
सहरी विकास मन्त्रालयअन्र्तगत सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कोशनाथ अधिकारीका अनुसार धरहरा चढ्न प्रि–टिकट बुकिङको व्यवस्था गर्ने भने पनि तत्कालका लागि धरहरास्थलमै गएर टिकट लिनुपर्नेछ । ‘अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने भने पनि हालसम्म ‘टिकट बुकिङ एप’ चलिसकेको छैन,’ अधिकारीले भने, ‘एपको व्यवस्था नहुन्जेल ‘फर्स्ट कम फस्ट सर्भिस’को व्यवस्था हुन्छ । सोहीअनुसार बिहान साढे १० बजेदेखि टिकट काट्ने व्यवस्था गर्छाैं । टिकट काट्नका लागि धरहरा परिसरमा अधिकृतस्तरको कर्मचारीको व्यवस्था गरेका छौँ ।’
धरहरा प्रवेश खुलेसँगै यस क्षेत्रको भिड नियन्त्रणका लागि गृह मन्त्रालयले थप प्रहरी परिचालन गर्ने भएको छ । खानेपानीको व्यवस्था काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गर्नेछ । यसका लागि बगैँचामा खानेपानीको धाराको व्यवस्था गर्नेछ । धरहरा क्षेत्रको विद्युत्सम्बन्धी कामको जिम्मेवारी प्राधिकरणले पाउने भएको छ । धरहरा क्षेत्रभित्र हालका लागि आवश्यक सबै कर्मचारीको व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने विभागले जनाएको छ । अधिकारीका अनुसार हाल परीक्षणकाल भएकाले धरहरामा बाँकी रहेको निर्माण कार्य सँगसँगै हुनेछ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्ष (वैशाख ०७८)अघि धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । तर, धेरै काम बाँकी भएकाले धरहरा खुलेको थिएन । यसपटक पनि धरहरा सञ्चालन कार्यविधिविनै प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट संविधान दिवसका दिन अर्थात् बिहीबारदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेपछि खुल्न लागेको हो । धरहरा अझै पूर्ण रूपमा बनिसकेको छैन । धरहरापरिसरमा रहेको ठुटे धरहरा (पुरानो) र सुन्धारा पुनर्निर्माण सुरु नै भएको छैन ।





