काठमाडौँ : चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) टोलीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिक परिस्थितिका कारण चीन भ्रमण छोट्याएर टोली स्वदेश फर्किएको बताए। वाग्लेले पार्टी सभापति व्यक्ति नभई संस्था भएकाले यसप्रति आक्रमण भइरहेको भन्दै सबै सदस्य एकजुट भएर प्रतिवाद गर्नुपर्ने धारणा राखे।
“हामी भ्रमण छोट्याएर आएको प्रमुख कारण नेपालमा विकसित राजनीतिक घटना हो। हाम्रो टोलीले ९ दिनको भ्रमण योजना बनाएको भए पनि ५ दिनमै फर्केका छौं। यस कठिन घडीमा पार्टी सभापति मात्र होइन, संस्था नै आक्रमणको निशानामा परेको छ,” उनले भने।
उक्त भ्रमणका क्रममा १४ सदस्यीय टोलीमध्ये ८ जना आज फर्किएका छन् भने बाँकी सदस्यहरू शुक्रबार फर्कने कार्यक्रम रहेको छ।





