काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारणसभा पोखरामा सुरु भएको छ। गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरे।
साधारणसभामा मन्त्री थापाको प्रमुख आतिथ्य र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको विशेष आतिथ्य रहेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा जारी कार्यक्रममा विभिन्न सरोकारवालाको समेत उपस्थिति रहेको छ ।
क्यानका सचिव पारस खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गरिरहेका छन्। साधारणसभा शनिबारसम्म चल्नेछ। साधारणसभाले क्यानको आयोजनामा आगामी मंसिरमा हुन लागेको नेपाल प्रिमियर लिग एनपिएललाई अनुमोदन गर्नेछ ।
त्यस्तै, साधारणसभाले गत वर्षको लेखापरीक्षण प्रतिवेदन अनुमोदन, वार्षिक लेखापरीक्षक नियुक्ति, २०२५ को वार्षिक कार्यक्रम तथा कार्ययोजना र बजेट अनुमोदन गर्ने क्यानले जनाएको छ।