कोशी प्रदेशमा ज्यान गुमाउनेको संख्या १० पुग्यो, पाँचथरमा सबैभन्दा बढी

२०८१ आश्विन १२, शनिबार

विराटनगर : बाढीपहिरोमा परेर कोशी प्रदेशमा शनिबार अपराह्नसम्ममा १० जनाले ज्यान गुमाएका छन्। हालसम्म ८ जना बेपत्ता छन्। पहिरोले पुरिएर सबैभन्दा धेरै पाँचथरमा पाँच जनाको मृत्यु भएको छ। सोलुखुम्बु र धनकुटामा पहिरोले २–२ जनाको ज्यान लिँदा इलाममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ।

शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बुको टाप्टिङमा दुई जनाको मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रूपु मगरको मृत्यु भएको वडा अध्यक्ष होमबहादुर मगरले जानकारी दिए।

पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएको उनले बताए। घाइतेलाई उपचारका लागि लैजान समेत कठिनाइ भइरहेको वडाध्यक्ष मगरले बताए। घटनास्थल सदरमुकाम सल्लेरीदेखि १५ किलोमिटर उत्तरमा पर्छ। सडकका ठाउँठाउँमा पहिरो खसेर अवरूद्ध हुँदा शव पोष्टमर्टमका लागि लैजान नपाइएको उनले बताए।

पाँचथरको पहिरोमा परेर चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। कोशीको यो पूर्वी पहाडी जिल्लामा बिहीबार रातिदेखि लगातार झरी जारी छ। लगातारको झरीले फरक–फरक ठाउँमा पहिरो जाँदा पाँचथरमा पाँच जनाको मृत्यु भएको हो।

फिदिम १२ घर भएकी फिदिम ४ मा बस्दै आएकी ५ वर्षे छोरी डोल्मा शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको छ। त्यसैगरी, फिदिम ८ भोटेगाउँका ८२ वर्षकी पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षकी रञ्जना राई र फिदिम १ दुमाका ५० वर्षका गोपी विश्वकर्माको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार उनीहरू आमाछोरा त्यहाँ पाहुना आएका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार