पहिरोबाट साथीलाई बचाउन गएका कर्णेल आफै बचेनन्

२०८१ आश्विन १३, आईतवार

काठमाडौं : पहिरोमा पुरिएर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) को मृत्यु भएको छ ।

कर्णेल मिलन केसीको पहिरोमा पुरिएको मृत्यु भएको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार उनी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए । साथीहरुसँग उनी घुम्न सिन्धुलाल्चोक पुगेका थिए । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए । पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

कर्णेल ३६ वर्षीय केसीको घर दोलखा । उनी आफ्ना कोरियन साथीसँग घुम्न गएका थिए । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए । उद्धारका लागि गएका प्रमुख सेनानी केसीलाई घाइते अवस्थामा उद्धार गरिए पनि त्यसको केही समयमै ज्यान गएको हो । उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । पहिरोबाट उद्धार गरेपछि सुरुमा उनी आफैं हिँड्दै जान खोजेका थिए । तर केही बेरमा गाह्रो भयो भन्दै ढलेका उनको त्यहीं ज्यान गयो ।

केसी शान्ति मिसनका लागि सिरिया जान छनोट भएका थिए । शान्ति मिसनमा जाने भएकैले उनले बढुवाको फुली पनि लगाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
3
+1
0
+1
1
+1
0

ताजा समाचार