काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्योतिषिको रुपमा परिचित सुरेशचन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका लागि आसन्न मंसिर महिना नराम्रो रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सत्ता गठबन्धन दलका बीच अहिले कुनै पनि प्रकारको समस्या नभएपनि बाह्य शक्तिका कारण मंसिरमा कांग्रेस-एमालेसहितको सत्ता गठबन्धनमा फाटो आउनसक्ने योग रहेको बताएका हुन् । उनले प्रधानमन्त्री ओली छिमेकी मुलुक चीन भ्रमणमा गएपछि भारतसँगको सम्बन्धनमा दरार आउने संकेत गरे । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन जाँदैछन् ।
‘जनताहरुले नयाँ परिवर्तन खोज्न सक्ने सम्भावना पनि यस्तो अवस्थामा हुनसक्छ । त्यसकारणले गर्दा थोरै बोलेर देश र जनताको लागि जति सकिन्छ हामीले काम गर्न सक्यौं भने गठबन्धनमा समस्या छैन । तर, गठबन्धनलाई बाहिरी तत्वले असर गर्न सक्ने सम्भावना यो मंसिरसम्ममा देखिन्छ । त्यहाँसम्म सबै जना मिलेर सावधानी होऔं, त्यो भन्दापछि ठीकै जान्छ,’– ज्योतिष रिजालले भने ।