ग्वार्को फ्लाइओभरको निर्माण छिटो सक्न भौतिकमन्त्री दाहालको निर्देशन

२०८१ कार्तिक २६, सोमबार

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाइओभरको निर्माण छिटो सक्न निर्देशन दिएका छन् । निर्माणाधीन फ्लाई ओभरको सोमबार बिहानै स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन सम्बन्धित आयोजना प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।

पूर्वाधार तथा विकास आयोजनाहरू निर्माण कार्यमा हुने ढिलासुस्ती आफूलाई सह्य नहुने उनले बताए । काठमाडौंको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण हुने अपेक्षा राखिएकाले छिटो काम सक्नुपर्ने उनको भनाइ थियो । उनीसँगै निरीक्षणमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल , गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झा लगायतका कर्मचारीहरूको सहभागिता थियो ।

२०७८ फागुन १२ गते देखि ठेक्का लागि निर्माण सुरु भएको उक्त फ्लाई ओभर निर्माणको म्याद २०८१ पुस ८ सम्म थप गरिएको छ ।

सुरु सम्झौताअनुसार गत फागुन १२ भित्रै निर्माणको काम सक्नुपर्ने हो । डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम सक्न नसकिएको आयोजनाको भनाइ छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार