केपी ओलीले कति वर्ष चलाउन पाए भने देश बन्ला ? : राजेन्द्र लिङ्देन

२०८१ मंसिर ५, बुधबार

डोटी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकार चलाइरहेका दल र नेताहरुबाट देश विकास हुन नसक्ने बताएका छन् ।बुधबार सुदूरपश्चिमको डोटीमा आयोजित पार्टी कार्यक्रममा उनले अहिले सरकारमा र विपक्षमा रहेका दलहरुबाट देश विकास हुन्छ भन्ने विश्वास नभएको बताए ।

‘केपी ओलीले अब कति वर्ष चलाइराख्न पाए भने यो देश बन्छ होला त, तपाईको सुखको दिन आउछन् होला त, हाम्रा युवाहरुले यही देशभित्र गरिखाने वातावरण बन्छ होला त ?, शेरबहादुर देउवालाई छैटौं–सातौं कति पटक प्रधानमन्त्री बनाइदिए यो देश बन्ला ? वा प्रचण्डलाई फेरि फर्काइदिए बन्छ होला’, लिङ्देनले प्रश्न गरे ।

कांग्रेस, एमाले र माओवादीका दोस्रो पुस्ताका नेताहरुमा पनि देश बनाउन सक्ने अनुहार नदेखिएको उनले बताए । ‘कांग्रेस, एमाले र माओवादीको परपरसम्म हेर्नुस्, यीनीहरुका कुन चाहिँ मान्छेलाई प्रधानमन्त्री बनायो भने यो देश बन्छ होला ?’, उनले प्रश्न गरे । कांग्रेस, एमाले र माओवादीलाई समय दिनु भनेको भावी सन्ततिको पनि भविष्य बर्बाद हुने उनले बताए । ‘हामीले निर्णय गर्ने बेला भयो, हामीले मत परिवर्तन गर्नुपर्ने बेला भयो’, अध्यक्ष लिङ्देनले भने ।

उनले अगाडि भने, ‘थाकेको बेइमान र भ्रष्ट नेतृत्व बोकेर तपाईले आफ्नो सुखी जीवन देख्न पाउनुहुन्न ।’ अध्यक्ष लिङ्देनले केपी शर्मा ओली सरकारमा आएपछि सार्वजनिक ऋण बढ्ने गरेको बताए । अहिले नै सरकारको ऋण २५ खर्ब नाघेको भन्दै उनले एक जना नेपालीको भागमा झण्डै एक लाख पुग्न लागेको बताए ।

‘केपी शर्मा ओली सरकारमा आएपछि सार्वजनिक ऋण बढ्छ, उनलाई केही गरेर देखाउनुपर्ने हुन्छ, अनि ऋण लिऔं न त भन्छन्, अहिले यो सरकार आएपछि २ खर्ब ऋण लिइसके’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार