काभ्रे : सत्तारुढ नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुने छुट नभएको टिप्पणी गरेका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नव निर्वाचित अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य समेत रहेका उनले लामो समय राजनीति गरेका राजनीतिक दलको गठबन्धन सरकार बनेकाले यसलाई जोगाएर देशलाई निकास दिनु पर्ने बताए ।
‘नेपालको राजनीतिक संस्थागत राजनीति समीकरण हो, यो फेल भयो भने धेरै कुरा फेल हुन्छ’, उनले भने । राणा र राजाविरुद्ध लडेका शक्तिले पनि देश बनाउन सकेनन् र मुलुकलाई आशावादी बनाउन सकेनन् र त्यसपछि मुलुक निराशामा गयो भने अर्को विकल्प नहुने बताए । ‘दिनदिनै सत्ता परिवर्तन गर्ने कुरा होइन’, उनले भने ।
उनले प्रेस स्वतन्त्रताको नाममा छाडातन्त्र स्वीकार्य नभएको बताएका छन् । त्यसैले प्रेस स्वतन्त्रताभित्र पनि स्वनियन्त्रण आवश्यक रहेको बताए । बास्कोटाले स्वतन्त्र व्यक्ति मात्र हुन सक्ने बताउँदै स्वतन्त्र भन्ने पार्टीको नाम नै गलत भएको बताए । पत्रकारितामा हारजित नहुने बताउँदै बास्कोटाले सबैले मिलेर काम गर्नुपर्ने बताए । त्यसैले एकले अर्काप्रति कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्न उनले आग्रह गरे । समाजलाई सुसूचित गर्न, राजनीतिलाई सही मार्गमा हिँडाउन, विधि र कानुनको शासन पालना गराउन पूर्ण प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेस विभाजित हुन नहुने उनले स्पष्ट पारे ।
महासंघको १२ औँ जिल्ला अधिवेशनबाट विनोदकुमार न्यौपाने अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । जिल्ला शाखा स्थापना दिवसको अवसर पारी आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य तीर्थ लामा, रत्न ढकाल, जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति कार्यवाहक अध्यक्ष बाला अधिकारी, जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिना, निर्वाचित अध्यक्ष विनोद न्यौपाने, सचिव कपिल कोइराला लगायतले महासंघको स्थापना दिवसका अवसरमा प्रेसले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।