काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बिहीबार साँझ वामदेव निवास भैंसेपाटीमा भेटवार्ता भएको हो । वामदेवलाई भेट्न माधव उनकै घर पुगेका थिए । गौतमको सचिवालयका अनुसार उनीहरूबीच साँझ झन्डै दुई घण्टा लामो वार्ता भएको हो । उनीहरूबीच के विषयमा कुराकानी भयो भन्नेचाहिँ खुलाइएको छैन ।
वामदेवले पार्टीमा एकीकृत समाजवादी प्रवेश गर्ने निर्णय गरिसकेका छन् । तर, उनले आफू मात्रै प्रवेश नगर्ने बताएका छन् । उनले पार्टीमा रहेका अरु नेताले समेत सम्मानजनक स्थान पाउनुपर्ने माग गरेका छन् ।
एकीकृत समाजवादीले पनि वामदेवलाई भित्र्याउने तयारी थालेको छ । उनलाई पार्टीमा वरिष्ठ नेता बनाउने छलफल एकीकृत समाजवादी सुरु भएको छ ।





