काठमाडौं :सूर्यदर्शन सहकारी ठगीसँगै विभिन्न कसुरका प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीले अन्य प्रतिवादीहरूलाई समेत पोलेर बयान दिएका छन्।
अभियोग पत्र साथ अदालतमा पेश गरिएको बयानमा उनले सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको विषयमा जीबी भन्ने गितेन्द्र बाबु राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै योजना भएको बताएका छन्। सहकारीबाट रकम ल्याउँदा पनि उनीसहित तीन जनाले नै केवाईसी फारम भरेको र सम्पूर्ण कारोबार रवि र जीबीलाई थाहा हुने बताएका छन्।
गितेन्द्रबाबु (जीवी) राईले पैसा जुटाउने र रवि लामिछानेले खर्च गर्ने गरेको जोशीको बयान छ । कर्मचारी र पत्रकारको छनोट, नियुक्ति, तलबको मापन लगायतको सम्पूर्ण कार्य रवि र जीवीबाट हुने गरेको जोशीले बयानमा बताएका छन् । उनले भने, ‘गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडमा सूर्यदर्शन सहकारीबाट सहकारी ऐन, नियम र सहकारीको सिद्दान्त विपरित रकम गएको सम्वन्धमा सम्पूर्ण जिम्मेवार गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा छ ।’





