काठमाडौं : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
एमाले नेता गुरुङलाई मंगलबार कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले गुरुङ पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘हामीले मीना गुरुङलाई पोखराको घरबाटै नियन्त्रणमा लिएका छौं ।’ आवश्यक कारबाही प्रक्रियाका लागि उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।





