अबको बाटो तय गर्न आन्तरिक छलफलमा भीम रावल

२०८१ पुष १६, मंगलवार

काठमाडाैं : नेकपा एमालेबाट निकालिएका भीम रावलको अबको कदम के होला भन्ने सर्वत्र चासो छ । अनुशासनविपरीत काम गरेको निष्कर्षसहित एमाले सचिवालय बैठकले पुस १० गते रावललाई पार्टीबाट निकालेको थियो ।

वर्षौं काम गरेको पार्टीबाट एउटै निर्णयले निकालिनुलाई निरकुंशता भन्दै रावलले पहिलो चरणमा आफू निकटका नेता–कार्यकर्तासँग संवाद गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । यसबीचमा उनले नेपाली कांग्रेस बीपीका कर्ण मल्ल लगायतलाई पनि भेटेका छन् । तत्काल पार्टी खोल्न लागेको भन्ने चर्चालाई भने उनका निकटस्थहरू अस्वीकार गर्छन् ।

रावल स्वयंले पनि यस विषयमा अहिले कुनै टिप्पणी नगर्ने बताए । ‘म अहिले केही बोल्दिनँ,’ रावलले भने, ‘केही दिनपछि आफ्ना कुरा राख्छु ।साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका रावलले बुधबार पत्रकार सम्मेलन राखेका छन् । त्यहीँबाट पार्टी घोषणा गर्ने तयारी भएको भनेर हल्ला चले पनि उनका स्वकीय सचिव गोविन्द दुवाल हतारमा निर्णय लिइहाल्ने मनस्थितिमा रावल नरहेको बताउँछन् ।

एमालेबाटै विभाजन भएर बनेको नेकपा एसले प्रस्ताव गरे पनि रावलले उक्त पार्टीमा नजाने बताएका छन् । स्वकीय सचिवालयका अनुसार एमालेले कारबाही गरेपछि उनलाई भेट्न आउने भीड लागेको छ । ‘कारबाहीपछि उहाँसँग भेट गर्न आउने र साथ दिन्छौं भन्नेको बाक्लो भीड छ । यसैले भावी रणनीति तय गर्न उहाँ आन्तरिक छलफलमा जुट्नुभएको छ,’ दुवालले भने, ‘कसरी अगाडि बढ्ने भनेर एक्लै होइन, सल्लाहमा निर्णय गर्छु भन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार