काठमाडौं : सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा प्रधानमन्त्रीबाट हट्नु पर्दाको पीडा र छटपटी रहेको टिप्पणी गरेका छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिंडेको बताए ।
‘अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ’, महासचिव पोखरेलले भने । नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भएका बताउँदै पोखरेलले एमालेलाई कमजोर बनाउने अन्तिम हतियारको रूपमा साइवर आक्रमण भइरहेको बताए । यसलाई चिरेर अघि बढ्न सके अब एमालेलाई कसैले कमजोर बनाउन नसक्ने उनले प्रष्ट पारे ।
‘नेपालमा ३२ सिट म्याजिक नं, २७५ सिटमा ३२ सिटले शासन गर्छ अब पाँचै वर्ष, यस प्रकारको भद्दा मजाक गर्ने नेता पुष्पकमल दाहाल प्रचण्ड’, उनले भने । अहिले पनि प्रधानमन्त्रीबाट हट्नु पर्दा प्रचण्डलाई पीडा, छटपटी औडाहा भएको उनले टिप्पणी गरे । यसरी कमजोर पार्टीले बलिया शक्तिमाथि शासन गर्न खोजेकाले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेको उनले बताए । महासचिव पोखरेलले आगामी चुनावपछि कमजोर शक्तिको शासन अन्त्य हुने बताए।
उनले एमालेले बहुमत ल्याउन दाबी पनि गरे । ‘नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो । एउटा पार्टीको सरकार नबनी देश बन्दैन’, पोखरेलले भने । महासचिव पोखरेलले सिंगो देश बलियो बनाउन क्षेत्रीय पार्टीमा मत विभाजन हुन नहुने पनि बताए ।





