काठमाडौँ : युक्रेनले आफ्नो भूमि प्रयोग गरी रुसको ग्यास युरोपमा लैजान नदिने भएको छ। बुधबार यसरी ग्यास लैजान गरेको सम्झौता सकिएलगत्तै युक्रेनले यस्तो निर्णय गरेको हो। एजेन्सीहरुका अनुसार युक्रेनले राष्ट्रिय सुरक्षालाई लिएर ट्रान्जिट सम्झौता नवीकरण नगरेको हो।
‘हामीले रुसी ग्यासको ट्रान्जिट रोकेका छौँ’, युक्रेनी ऊर्जा मन्त्रालयले भनेको छ । यसका बाबजुद रुसले हंगेरी, टर्की र सर्वियामा टर्कस्ट्रिम पाइपलाइनबाट ब्ल्याकसी हुँदै ग्यास निर्यात गर्न सक्नेछ।
रुसले युक्रेनविरुद्ध आक्रमण गरेपछि पनि युक्रेनी भूमिबाट युरोपमा रुसी ग्यास आयात भइरहेको थियो। सो आक्रमणपछि युरोपेली देशहरुले रुसी ग्यास खपत नै कम गरिरहेका थिए। सन् २०२३ मा युरोपले १० प्रतिशतभन्दा कम रुसी ग्यास आयात गरेको बीबीसीले जनाएको छ।





