संविधान संशोधन २०८७ सालमा हुन्छ : प्रधानमन्त्री ओली

२०८१ पुष २३, मंगलवार

काठमाडौं : प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा मात्र हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको समापन बैठकमा बोल्दै उनले तत्काल संविधान संशोधन नहुने बताए ।

‘अहिले राष्ट्रिय सभामा एमालेको बहुमत छैन, २०८७ सालमा एमालेको बहुमत पुग्छ अनि त्यतिबेला संविधान संशोधन गर्नेछौं,’ ओलीले भने । अध्यक्ष ओलीले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएपछि केही केन्द्रीय सदस्यले उठेर २०८३ होला नि भनेका थिए । ‘अध्यक्ष ज्यू झुक्किनु भयो जस्तो छ, २०८३ भन्न खोज्नु भएको होला नि !’

एक केन्द्रीय सदस्यले भनेका थिए । जबाफमा अध्यक्ष ओलीले २०८७ सालमै हो भनेका हुन् । गत असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो । त्यसमा संविधान संशोधनलगायत विषय पनि छन् । संविधान संशोधन गर्न कांग्रेस–एमालेले कार्यदल तयारी गरिरहेका छन् भने विभिन्न दलहरूले यसबारे सुझाव दिन समिति पनि गठन गरिसकेको अवस्था छ ।

केन्द्रीय कमिटीमा पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । यस्तै, ओलीले पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई गरिएको कारबाही फिर्ता नहुने बताएका छन् ।

गत मंसिर १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पार्टीको संस्थागत निर्णयविरूद्ध धारणा राखेको भन्दै पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार