काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विपक्षी दलहरूको पत्रकार सम्मेलनमा उपस्थित भएपछि, संस्थापक महामन्त्री मुकुल ढकालले आपत्ति जनाएका छन्। शुक्रबार भएको पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल उपस्थित थिए।
आपत्ति व्यक्त गर्दै ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा विपक्षी हो, तर सरकारको मात्र विपक्षी होइन, काङ्ग्रेस, एमाले, माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षी हो। नो नट अगेन। पुरानालाई बोकेर कतै पुगिन्न।’
उनले थपेका छन्, ‘दुई दुई पटक सरकारमा गएर गरेको गल्ती, विपक्षी गठबन्धनमा सहभागी हुनु पनि त्यहीँ गल्तीको निरन्तरता हो। नो नट अगेन भनेर हामीले मत पाएको तथ्य हामीले बिर्सन हुँदैन। बारम्बार एउटै गल्ती दोहोर्याउँदा जनमत हामीबाट भड्कन सक्छ, सचेत बनौँ। यो मञ्चमा हाम्रो उपस्थिति चित्त बुझ्ने कुरा होइन।’ सम्मेलनमा रास्वपाका कार्यवाहक सभापति अर्यालको अपमान गरिएको आरोप पनि लगाएका छन्।






