कपिलवस्तु : पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको तौलिहवा स्थित ऐतिहासिक तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेका छन्।
उनी मंगलबार दिउँसो साढे ३ बजे मन्दिर पुगेका उनले करिब २० मिनेटसम्म पूजा गरे। पूजा कार्यक्रममा मन्दिरका प्रमुख पुजारी दुर्गेश गोसाईको नेतृत्वमा स्वस्तिक पाठसहित विधिवत पूजा सम्पन्न गरिएको थियो। मन्दिरको ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्त्वबारे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले पूर्वराजालाई जानकारी गराएका थिए। तौलिहवा बजारको प्रशासन चोकदेखि मन्दिरसम्म नागरिकहरूको ठूलो भीडले पूर्वराजाको स्वागत गरेको थियो।
पूर्वराजा शाह करिब ५ सय मिटर पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए।यस क्रममा नागरिकहरूले उनलाई फूलमालाले सम्मान गरेका थिए। केहीले राजसंस्थाको समर्थनमा नाराबाजी गर्दै देश बचाउन आग्रह पनि गरे। कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता थियो। दुई सय वर्ष पुरानो तौलेश्वरनाथ महादेव मन्दिर धार्मिक र ऐतिहासिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ।
यहाँका बुढापाका तथा स्थानीयहरूका अनुसार मन्दिरको महत्वले आज पनि जनताको ध्यान आकर्षित गर्दै आएको छ।





