पाल्पा : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले काँग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधबार उदघाटन गर्दै पुनले पछिल्लो समय सहतमा आएका प्रकरणहरुको छानबिनका लागि समिति गठनको माग गरेका हुन् । आफूमाथि दर्जनौं अनियमिता र भ्रष्टचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरा दरबारको प्रसंग चर्चामा ल्याइएको उनको भनाइ थियो ।
उनले शुक्रबार संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारबारे छानबिनको माग राखेर बोल्ने जानकारी दिए । ‘माओवादी नेता पनि कतै जोडिएका छन् कि, तर्साउन पो सकिन्छ कि भनेर ओलीजीले शेरा दरबारको कुरा गरिरहनुभएको छ । हामी हिजो गणतन्त्रका लागि ज्यानको बाजी लगाएर लडेर आएका हौं । हाम्रो अध्यक्षले संसदमै शेरादरबारको छानबिन सुरु गर्नुस् भनेर बोल्दै हुनुहुन्छ । उहाँले पत्रकार सम्मेलनमै भनिसक्नुभएको छ शेरा दरबारबारे छानबिन गरियोस् भन्ने माग संसदमा राख्छु’, पुनले भने, ‘केपी ओलीजीलाई मेरो र हाम्रो पार्टीको प्रश्न चुनौती छ, तपाईं आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ ? कम्बोडियामा तपाईंको लगानी छ भने प्रश्न उठ्यो, स्वीस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी स्टेटमा तपाईंको नाम मुछियो । तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हो । के भन्न सक्नुहुन्छ मममाथि संसदीय छानबिन होस् भन्न सक्नुहुन्छ ? हामी तयार छौं ।’





