रौतहट : रौतहटमा मूर्ति सेलाउन गएका एक युवकको सोही मूर्तिले थिचिएर मृत्यु भएको छ। सरस्वती पूजाको भोलिपल्ट मूर्ति विसर्जन गर्न गएका युवकको बागमती नदीमै ज्यान गएको हो।
राजदेवी नगरपालिका–७, मुडबलवाका २२ वर्षीय सुरज यादवसहित चार जना युवक गाउँ नजिकैको बागमती नदीमा मूर्ति सेलाउन गएका थिए। तर, मूर्ति विसर्जन गर्ने क्रममा सोही मूर्तिले थिचिएर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मंगलबार साँझ मूर्ति सेलाउन गएका यादव नदीमा बेपत्ता भएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले रातिदेखि नै खोजी कार्य जारी राखे पनि १५ घण्टापछि बुधबार बिहान मात्र यादवको शव बागमती नदीमै भेटिएको हो।
स्थानीय युवाहरूले निजी लगानी र चन्दा संकलनमार्फत गाउँमा सामूहिक रूपमा सरस्वती पूजाको आयोजना गरेका थिए। माघ २१ गते पूजा सम्पन्न भएपछि माघ २२ गते मूर्ति विसर्जनका लागि स्थानीयहरू राजदेवी नगरपालिका–६ हनुमान मन्दिर नजिकैको बागमती नदी पुगेका थिए।
घाटमा चार जना युवक मूर्ति बोकेर नदीमा छिरेका थिए, तर मूर्ति विसर्जनपछि तीन जना मात्र बाहिर निस्किएका थिए। यादव नदीभित्रै हराएपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले खोजी कार्य थालेको थियो।
बुधबार बिहान खोजी जारी रहँदा यादवको शव मूर्तिले नै थिचिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





