काठमाडौँ : ‘बलिया राजनीतिक शक्ति’(दुई दलीय राजनीति)को वकालत गर्दै आएका नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘थ्रेसहोल्ड’ पाँच प्रतिशत पुर्याउनुपर्ने प्रस्ताव राखेका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राजनीतिक स्थायित्वका लागि थ्रेसहोल्ड पाँच प्रतिशत पुर्याउनुपर्ने तर्क अघि सारेका हुन्।
‘कानुनमा सुधार गरेर पनि स्थायित्व गर्न सकिन्छ,’ पोखरेलले भने, ‘संविधानमा संशोधन गरी स्थायित्वको आधार खोज्दा कानुन संशोधन गर्नै पर्दैन। त्यसका लागि ५ प्रतिशत थ्रेसहोल्ड राख्ने कुराले स्थायित्वका लागि सहज गर्छ ।’ दलहरूको ह्विप सम्बन्धमा पनि अहिले जस्तो व्याख्या गरेको छ त्यसमा सुधार आवश्यक रहेको पनि उनले बताए।
यसअघि प्रतिनिधिसभामा थ्रेसहोल्ड तीन प्रतिशत र प्रदेश सभामा डेढ प्रतिशत मात्रै छ। जनतामा उत्पन्न निराशालाई हटाउन संविधान संशोधनको विकल्प नभएको पनि पोखरेलले जिकिर गरे।





