काठमाडौँ : नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले संसदलाई नजरअन्दाज गरेर अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।
मंगलबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उनलयस्तो बताएका हुन्। उनले तत्कालीक आवश्यकताको परिपूर्तिका लागि अध्यादेश ल्याउने गरे पनि संसद् सुरु हुनु भन्दा केही दिनमात्रै अगाडि अध्यादेश ल्याउनुले संसदलाई नजरअन्दाज गरेको महसुस हुने बताए। उनले आर्थिक विकास र सुशासनका लागि अध्यादेश ल्याएने कुरा सरकारका माथिल्लो तहका व्यक्तिहरूले भन्ने गरेको भन्दै आपत्ति जनाए।
यो अभिव्यक्ति जिम्मेवारी अनुकूलको नभएको उनको दाबी छ। संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ? भन्दै प्रश्न गरे। संसदबाट कानून बनाउँदा आर्थिक विकास र सुशासन नहुने र अध्यादेशबाट मात्रै प्रगति हुनसक्ने कुरा सम्भव नरहेको बताए। प्रजातन्त्रमा संसदलाई बाइपास गरेर, संसदलाई नजरअन्दाज गरेर, संसदलाई अवमूल्यन गरेर कुनै पनि शासन अगाडि बढ्न नसक्ने जिकिर गरे।
सांसद साउदले भने, ‘प्रजातन्त्रमा संसदलाई बाइपास गरेर, संसदलाई नजरअन्दाज गरेर, संसदलाई अवमूल्यन गरेर कुनैपनि शासन अगाडि बढ्न सक्दैन। कुनै पनि लोकतन्त्र अगाडि बढ्न सक्दैन। यो बाटोमा हामी संवेदनशील हुनुपर्ने, चिन्तनशील हुनुपर्ने आवश्यकता छ।’
सांसद साउदले सामाजिक सञ्जालका नाममा जसले जे लेखे पनि हुने, जे गरे पनि हुने प्रवृत्ति आउनु दुःखद् भएको बताए। सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको तर नियमन गर्दा सामाजिक सञ्जालको कार्यालय राखेर नियमन सुरु गर्नुपर्ने जिकिर गरे। समाजको अभिव्यक्तिको स्वतन्त्रतालाई बन्देज लगाउनु नहुने उनको भनाइ छ।





