काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सचिव दीनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी)सँग चाँडै एकता हुन सक्ने बताएका छन्। ‘एकीकृत समाजवादीसँग चाँडै एकता हुन पनि सक्छ,’ शर्माले भने।
उनले थप स्पष्ट पारे, ‘हामीले त समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा नै पार्टी एकता हुनुपर्छ भनेका छौँ। त्यो दिशामा पनि हामी काम गरिरहेकै छौँ। तर, त्यसमा पनि एकीकृत समाजवादीसँग अझ निकटबाट कुराकानी भइरहेको हो।’ उनले एकीकृत समाजवादीसँगको एकताको आधार तयार भइरहेको पनि बताएका छन्। ‘त्यसैले हाम्रो अध्यक्षले भनेजस्तै एकीकृत समाजवादीसँग चाँडै एकता हुन पनि सक्छ। असम्भव केही हुँदैन,’ उनले भने।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले चितवन र सुर्खेत पुगेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका थिए।





