मधेसका जनतालाई दाहालको आग्रह: नक्कली मधेसवादी दलको भुलभुलैयामा नपर्नुहोस्

२०८१ फाल्गुन १६, शुक्रबार

राजविराज : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तरक्रिया उनले मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयाको परेको दाबी गरे । अध्यक्ष दाहालले उनीहरूबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसँग जोडिनुपर्ने बेला आएको बताए ।

आफूलाई मधेसवादी भन्ने दलहरु जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे । मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष दाहालले स्पष्ट पारे । अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलो पटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार