काठमाडौं : गृहमन्त्री रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिंकुकुमारी सदाउको सामूहिक बलात्कारपछि मृत्युको घटनामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले राखेको जिज्ञाशाको जवाफ दिँदै उनले भने, ‘रिंकु सदायको घटनामा जति पनि मानिस संलग्न छन्, अपराधमा संलग्ग्न भएका मानिसलाई सक्रियताका साथ खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुनबमोजिम कडा कारबाही गर्नेमा पुनः प्रतिबद्धता व्यक्त गर्दछु।’
‘वि.सं. २०८१ माघ ३० गते सिराहाको नवरापुर गाउँपालिका– १ बस्ने रिंकुकुमारी सदाय आफ्नै घरमा झन्डिई मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा सोही वडामा बस्ने अन्दाजी वर्ष १९ को टिंकु भन्ने रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दरखास्त दिएकामा निजको नाममा पक्राउ पुर्जी जारी थियो,’ उनले भने।
मन्त्री लेखकले यही फागुन ८ गते मृतकको आमाको तर्फबाट आठजनाको विरुद्धमा अपहरण गरी आफ्नो नियन्त्रणमा राखी सामूहिक तबरबाट जबर्जस्तीकरणी गरी हत्या गरेको र पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्रसमेत गर्न खोजेकोअन्तर्गतको कसुर शीर्षक उल्लेख गरी पूरक जाहेरी प्राप्त भएको पनि जानकारी दिए।
पञ्चायतीमा संलग्न तीनजनालाई पक्राउ गरी कानुनबमोजिमको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले पूरक जाहेरी दरखास्तमा उल्लेख भएका आठजनाको नाममा पक्राउ पुर्जी जारी भएको संसद्लाई जानकारी गराए। सो घटनाको सम्बन्धमा पीडकलाई पक्राउ गरी छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले सक्रियतापूर्वक खोजतलास गरिरहेको उनको भनाइ छ।





