इन्फिनिक्सले ल्यायो घामबाट चार्ज हुने फोन, कसरी गर्ला काम ?

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : चिनियाँ मोबाइल ब्रान्ड इन्फिनिक्सले नयाँ प्रविधि प्रदर्शन गर्ने क्रममा यो वर्षको मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लूसी) मा अनौठो अवधारणा प्रस्तुत गरेको छ ।

सो अवसरमा कम्पनीले सूर्यको उज्यालोबाट चार्ज हुने स्मार्टफोन र त्यसका लागि छुट्टै सोलार चार्जिङ फोन केस देखाएको हो । यी प्रविधि अहिले अवधारणात्मक चरणमा भए पनि एमडब्लूसीमा देखाइएका डेमो युनिटले पूर्ण रूपमा काम गर्ने कम्पनीले उल्लेख गरेको छ ।

इन्फिनिक्सले यस प्रविधिलाई ‘सोलार इनर्जी-रिजर्भिङ टेक्नोलोजी’ ( SolarEnergy-Reserving Technology) नाम दिएको छ । यो प्रविधिले सूर्यको किरणलाई विद्युतमा परिणत गरी फोनको ब्याट्री चार्ज गर्छ । कम्पनीका अनुसार यो प्रविधिले २ वाटसम्मको चार्ज प्रदान गर्न सक्छ भने फोनलाई तातो हुनबाट समेत बचाउँछ ।

एमडब्लूसीमा कम्पनीले सौर्य ऊर्जाबाट चार्ज हुने फोनको कभर पनि प्रदर्शन गरेको छ । यो कभरले फोनको छेउमा रहेको सम्पर्क बिन्दुमार्फत फोनलाई चार्ज गर्छ । यसलाई सजिलै निकाल्न र लगाउन सकिने बताइएको छ । बिजुली नभएको वा आपतकालीन अवस्थामा यो कभर निकै उपयोगी हुने कम्पनीको भनाइ छ ।

इन्फिनिक्सले दोस्रो पुस्ताको रङ परिवर्तन हुने ‘ई-इङ्क डिस्प्ले’सहितको फोन पनि सार्वजनिक गरेको छ । यसअघिको संस्करणमा चार्ज गर्दा मात्र रङ परिवर्तन हुने सुविधा थियो भने नयाँ संस्करणमा फोनको ब्याट्रीबाटै रङ परिवर्तन गर्न सकिन्छ । प्रयोगकर्ताले विभिन्न रङ र ढाँचा छनोट गर्न सक्छन् । कम्पनीका अनुसार मौसमअनुसार रङ परिवर्तन हुने सुविधा पनि यसमा उपलब्ध छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी यो प्रविधिले काम गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले बजारमा यी प्रविधि कहिलेदेखि उपलब्ध हुनेछन् भनेर स्पष्ट जानकारी दिइसकेको छैन ।‍

-द भर्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार