रियलमीले ल्यायो लेन्स फेर्न मिल्ने स्मार्टफोन

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौं : बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेस २०२५ मा रियलमीले १४ प्रो सिरिजका फोनहरू ल्याउनुका साथै एउटा नयाँ र रोचक प्रयोग पनि देखाएको छ । कम्पनीले यस्तो फोनको अवधारणा प्रस्तुत गरेको छ, जसमा लेइका एम (Leica M) लेन्सहरू जोड्न सकिन्छ ।

यो कन्सेप्ट फोनमा दुई वर्ष पुरानो स्न्यापड्रागन ८ जेन २ प्रोसेसर प्रयोग गरिएको छ । फोनको पछाडिको भाग साओमीको १५ अल्ट्रा जस्तै चाँदी र क्रोम रङको छ । यसमा दुई ओटा क्यामेरा छन्- वाइड र अल्ट्रावाइड । क्यामेराको लागि सोनीले बनाएको १ इन्चको सेन्सर प्रयोग गरिएको छ । तर यसमा लेन्स भने छैन ।

क्यामेराको वरिपरि विशेष प्रकारको फ्रेम छ, जहाँ लेइका एम लेन्स जोड्न मिल्ने एडाप्टर राख्न सकिन्छ । यसको मतलब लेइकाका धेरै राम्रा लेन्सहरू यो फोनमा प्रयोग गर्न सकिन्छ । लेइका एम लेन्स आजसम्म पनि प्रयोग भइरहेको सबैभन्दा पुरानो क्यामेरा लेन्स हो ।

रियलमीले ७३ एमएम (३ गुणा) र २३० एमएम (१० गुणा) जस्ता लेन्सहरू देखाएको छ । तर यदि तपाईँले आफ्नै लेन्स प्रयोग गर्नुभयो भने १ इन्चको सेन्सरको कारणले लेन्सको आकार २.४७ गुणाले बढ्ने बताइएको छ । यस्तो अवधारणा रियलमीले पहिलो पटक ल्याएको भने होइन । सन् २०२२ मा साओमीले पनि यस्तै फोन देखाएको थियो, जसमा लेइका एम लेन्स जोड्न मिल्थ्यो ।

स्मरण रहोस्, यो फोन रियलमीले बेच्नको लागि बनाएको होइन । यो त केवल नयाँ प्रविधि देखाउनको लागि हो । प्रविधि कम्पनीहरूले बेलाबेला आफ्नो प्राविधिक क्षमता देखाउन यस्तो हर्कत गर्छन् । धेरै वर्षदेखि नयाँ प्रविधि नदेखिएको मोबाइल वर्ल्ड कङ्ग्रेसमा रियलमीले यस्तो नयाँ प्रयोग देखाउनुलाई धेरै प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार