काठमाडौँ : पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेस गर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले यस्तो बताएका हुन्। उनले विधेयकमा मोटामोटी सहमति भइसके पनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेस गर्ने बताए।
सभापति सिंहले ऊर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुने गरी ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले अहिलेका शासकहरूले पानीको महत्व नबुझेको कारण मानव निर्मित तालतलैयाहरू सुक्दै गएको बताए। मानव निर्मित तालहरूको पानी सुख्खायाममा जहाँ पनि प्रयोग गर्दा सजिलो हुने भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको उनको भनाइ छ।
सभापति सिंहले जंगल मासिँदै गए पनि पानीका स्रोतहरू समेत सुक्दै गएको कारण वन जंगलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताए।





