काठमाडौं : जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एन-एएनएच जहाजको अगाडिको पांग्रा उडानकै क्रममा खसेको भए पनि पाइलट तथा चालक दललाई त्यसबारे कुनै जानकारी थिएन।
नागरिक उड्डयन प्राधिकरणका अनुसार ल्याण्डिङ गियरको इन्डिकेसन ककपिटमा नदेखिने भएकाले उडानको दौरानमा पांग्रा खसेको पत्ता लाग्न नसकेको हो। प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पांग्रा हराएको पत्ता लागेको थियो।
नियमित जाँचका क्रममा नोज ल्याण्डिङ गियर (अगाडिको पांग्रा) हराएको देखिएपछि खोजी सुरु गरिएको थियो। ‘ल्याण्डिङ गियरको इन्डिकेसन प्रणाली ककपिटमा नदेखिने भएकाले चालक दललाई उडानका क्रममा पांग्रा खसेको जानकारी भएन,’ प्रवक्ता भुलले भने। खोजी गर्दा जहाज उड्ने क्रममा जनकपुर विमानस्थलकै रनवे टर्निङ प्याडमा पांग्रा खसेको पुष्टि भएको उनले बताए।
जहाजमा ६२ जना यात्रु सवार थिए। सबै सकुशल रहेका छन्।





