
काठमाडौँ : कोशी प्रदेशका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रदेशसभा बहिष्कार नगर्ने भएका छन्।
कोशी प्रदेशको नामकरण र पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएका थिए। कोशी प्रदेशसभालाई सम्बोधन गर्दा बहिष्कार गर्ने बताइरहेका विपक्षी दलहरू मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि बैठकमा उपस्थित हुन सहमत भएका हुन्।
मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका छन्। कोशीमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपा प्रतिपक्षी दल हुन्।
प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजेपछि बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची छ। उनले यसअघि लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरेका थिए।