
काठमाडौं : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नदीनाला स्वच्छ राख्न जनप्रतिनिधिहरूलाई आवश्यक नीतिगत निर्णय गर्न आग्रह गरेका छन्।
मंगलबार ललितपुरस्थित गोदावरी नगरपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यसका लागि ढल र सेफ्टी ट्याङ्की व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका हुन्। उपप्रधानमन्त्री सिंहले नगरपालिकाभित्र नयाँ घर निर्माणका क्रममा सेफ्टी ट्याङ्कीको व्यवस्थापन नगर्ने हो भने नदी झन् प्रदूषित हुने भन्दै सचेत रहनुपर्नेमा जोड दिए।
‘वागमती, विष्णुमती नदीलगायत उपत्यकाका जे-जति नदि छन्, हाल ती ढलका रूपमा प्रयोग भइरहेका छन्, अब प्रदूषण रोक्न फोहर व्यवस्थापनका लागि हामीले कदम उठाउन सकेनौँ भने भयावह अवस्था आउने छ’, उनले भने, ‘यसर्थ प्रदूषण रोक्नका लागि हरेक घरका सदस्य, स्थानीय तह र सरोकार भएकाहरू सचेत हुनुपर्छ, हामीले घर बनाउँदा सेफ्टी ट्याङ्की अनिवार्य बनाउनुपर्छ, घर बनिसकेको छ, ठाउँ पुगेको छैन भने ८-१० घर मिलाएर समुदायको सेफ्टी ट्याङ्कीको व्यवस्था गर्नुपर्छ।’
जमिनमा पानीको सतहलाई कम हुन नदिनका लागि वर्षाको पानी सङ्कलन गरेर सदुपयोग गर्ने पद्धतिलाई ध्यान दिन पनि आवश्यक रहेको भन्दै उपप्रधानमन्त्री सिंहले यसतर्फ जनप्रतिनिधिले विशेष चासोका साथ काम गर्नुपर्ने बताए। उपप्रधानमन्त्री सिंहले नगरपालिका प्रवेश गर्ने ठेँचो र सुनाकोठीको सडक फराकिलो बनाउनका लागि आवश्यक सुझाव पेस गर्न सङ्घीय सांसद, प्रदेशसभा सदस्यका साथै स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्दै यसमा आफ्नो सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। रासस