नेपालमा व्यवस्था बदल्ने समय आयो : धवल शम्शेर राणा

२०८१ फाल्गुन २८, बुधबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शम्शेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन् । बर्दियामा आयोजित मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राणाले नेपाली जनताले राजसंस्था माग गरेको दाबी गरे ।

‘भ्रष्ट नेताहरुको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ राप्रपा महामन्त्री राणाले भने । राजसंस्था र सनातन हिन्दुराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनको भनाइ छ ।

‘नेताहरुले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रष्ट भएको छ । अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरुले नै यो कुरा उठाइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको प्रष्ट भएको छ,’ राणाले भने ।

देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे । राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्‍याली संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार