काठमाडौं : मदन भण्डारी लोकमार्ग अन्तर्गत सदरमुकाम नजिकै बिहीबार राति सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ।
९ः४५ बजे राति गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको मोटरसाइकल ट्याक्टरसँग ठोक्किएर भएको दुर्घटनामा स्थानीय ३४ वर्षीय भूवन राईको निधन भएको प्रहरीले जनाएको छ। गाईघाटदेखि चुहाडेतर्फ जाँदै गरेको बा ६४ प ५१७ नं. को मोटरसाइकल त्रियुगा नगरपालिका ८ राजाबासस्थित मदन भण्डारी लोकमार्ग अन्तर्गत सरस्वति खोलाको पुल छेउमा रोकिराखेको प्रदेश २–०१–००१ त २३०१ नं. को ट्याक्टरमा ठोक्किँदा राईको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मृतक राई त्रियुगा नगरपालिका ७ भाण्टाबारीका भएको खुलेको छ। गाईघाटबाट भाण्टाबारी घरतर्फ गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी दोङले बताए।





