काठमाडौँ : नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् ।
बजगाइँले मन्त्री पाण्डेविरुद्ध तीनवटा आरोप लगाउँदै बुधबार उजुरी दिएका हुन् । पाण्डेले संविधान र पार्टी सिद्धान्तको उल्लंघन गरेको, पार्टी विधानको उल्लंघन तथा राष्ट्र र लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको बजगाइँको आरोप छ ।
उजुरीमा मन्त्री पाण्डेले हालै पशुपतिनाथ मन्दिर प्रांगणमा दिरुत्साहन अभिव्यक्ति र एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङ को नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको उल्लेख गरिएको छ । उक्त अभिव्यक्ति आउन पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत भएको बजगाइँको आरोप छ ।
नेपाली कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्ने र एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन नसक्ने भन्दै साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको उल्लंघन भएको उनले उल्लेख गरेका छन् ।





