देश कसले बिगार्‍यो भन्ने खोज्न थाल्ने हो भने समाधान भेटिँदैन : एमाले नेता थापा

२०८१ चैत्र २, शनिबार

काठमाडौँ : सत्तारूढ दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण थापाले देश कसरी बिग्रियो भन्नेबाट समस्याको समाधान खोज्न थाल्नुपर्ने बताएका छन्।

कसले बिगार्‍यो भन्नेबाट खोज्न थाल्दा व्यक्ति भेटिने तर, समाधान नभेटिने थापाको भनाइ छ। ‘कसले भन्नेबाट समाधान खोज्न थाल्ने हो भने व्यक्ति खोजिनेछ तर, समाधान मिल्ने छैन,’ शनिबार (आज) बिहान थापाले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले थपेका छन्, ‘कसरी ? भन्ने हो भने विधि, नीति, सिद्धान्त, व्यवहार र व्यवस्थाबारे बहस गरेर समाधान निस्कनेछ। कुनै व्यक्तिलाई केन्द्रमा राखेर देश बन्दैन। हल्ला, आरोप, विरोध र गालीले देश बन्ने त कुरै भएन। इतिहासको वस्तुनिष्ठ समीक्षा गरौँ, सामाधानमुखी भएर भविष्यको बाटो तय गरौँ।’

अहिले मूल प्रश्न ‘देश कसरी बिग्रँदैछ’ भन्ने भएको भनाइ थापाको छ। ‘नेपाल कसले बनायो, कसले चलायो, कसले बिगार्‍यो, कसले सपार्‍यो ? भन्ने कि कसरी बन्यो, कसरी चल्यो, कसरी सप्रियो, कसरी बिग्रँदैछ ? भन्ने प्रश्न गर्ने र समाधान खोज्ने ? अहिलेको मूल प्रश्न यो हो,’ उनले भनेका छन्।

प्रजातन्त्रवादी दलका नेताहरूले पूर्वराजाको सक्रियताको प्रसङ्ग कोट्याउँदै २५० वर्षसम्म राजाहरूले शासन गरेर देश बिगारेको बताइरहँदा थापाले यस्तो बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार