
काठमाडौँ : नेपालमा उत्पादित विद्युत् अपुग भएर भारतबाट ल्याइरहेको अवस्थामा अब भारतले १२ घण्टा मात्र विद्युत् आपूर्ति गर्ने भएको छ। भारतबाट दैनिक २० घण्टा बिजुली आयात गरेर आपूर्ति गरिँदै आएकोमा आइतबारदेखि भारतबाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्ममा मात्र विद्युत् आयात हुने भएको छ।
करिब आठ घण्टा विद्युत् आयात कटौती भएपछि साँझको समयमा लोडसेडिङ हुन सक्ने देखिएको छ। बिहानदेखि बेलुकालाई सोलार आवर मानिएको छ। अब सोही अवधिमा मात्र विद्युत् आयात हुनेछ।
साँझको समयमा औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने अनुमान छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले सोलार आवरमा मात्रै बिजुली दिन लागेको हो। विद्युत् प्राधिकरणका अधिकारीहरू भने भारतले रातको समयमा बिजुली नदिएर कुनै असर नपर्ने बताउँछन्। भारतले पूर्व सम्झौता अनुसार मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै बिजुली दिने दिन लागेको हो।
नेपाल र भारतबीच फेब्रुअरीमा प्रोजेक्ट स्टेयरिङ कमिटी (पिइसी) को बैठकले मार्च १५ तारिखदेखि जुन ३० तारिखसम्म सोलार आवरमा मात्रै बिजुली दिने सहमति भएको थियो।
सरकारले वर्षायाममा भने भारत विद्युत् निर्यात गर्ने योजना बनाएको छ। नेपालले भारतमा करिब एक हजार मेगावाट विद्युत् निर्यातको स्वीकृत लिइसकेका छ। ६ सय ९० मेगावाट निर्यातको स्वीकृत पाएकोमा भारतको विहार र हरियाणामा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्न गत भदौमा भारतले स्वीकृत दिएको थियो।
विद्युत् प्राधिकरणले गत आव २०८०/८१ मा एक अर्ब ९४ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी १७ अर्ब सात करोड रूपैयाँ आम्दानी गरेको थियो। आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रूपैयाँको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रूपैयाँको निर्यात गरिएको थियो।
आगामी केही वर्ष हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने विद्युत् प्राधिकरणको दाबी छ। नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ।
नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा अघि बढेको छ। विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पूर्वाधार निर्माणको काम पनि तीव्र रूपमा अघि बढाएको छ। नेपाल र भारतबीचका ऊर्जासम्बन्धी विभिन्न संयन्त्रमार्फत निर्णय भएबमोजिम ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको क्षमता ६०० बाट बढाएर एक हजार पुर्याएको छ।