नक्कली प्रमाणपत्र प्रयोग गरी जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ चैत्र ३, आईतवार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली प्रयोग गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा पवन कुमार बुढाथोकीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सर्लाहीको बरहथवा नगरपालिकास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका शिक्षक बुढाथोकीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट जारी भएको नक्कली प्रवीणता प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको हो।

बुढाथोकीले रौतहटको महेन्द्र माध्यमिक विद्यालय, चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतीय पदका लागि नक्कली प्रमाणपत्र प्रयोग गरी राष्ट्रसेवकको ओहदा, लाभ र सुविधा लिएको पाइएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार बुढाथोकीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित ऐनको दफा १६ को उपदफा (१) अन्तर्गत कारबाहीको माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार