
काठमाडौँ : नेपाली कांग्रेसकी सांसद तथा परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढेको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको हो । राणाले सिंहविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् ।
सिंहले राणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।
२०८१ जेठ २२ गते जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई मेलमिलापमा पठाउने आदेश गरेको थियो । तर मेलमिलाप हुन नसकेपछि मुद्दा पुनः सुनुवाइका लागि अदालत नै फर्किएको थियो ।