
काठमाडौँ : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको दाबी गरेका छन्।
आजपाको बुधबार काठमाडौँमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल भइसकेको बताउँदै नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्वारा घोषित तेस्रो जनआन्दोलन सफल बनाइनुपर्ने बताए।
‘सरकार सबै मोर्चामा असफल भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली सहित बहुमत मन्त्रीहरू कार्यसम्पादन मूल्याङ्कनमा असफल सक्नुभएको छ। आफ्नै मूल्याङ्कनमा सरकार असफल भइसकेको छ। जनताको चाहना र आवश्यकता सम्बोधन गर्न सकेको छैन,’ साहले भने, ‘हामीले घोषणा गरे अनुसार नागरिकको सर्वोच्चता सहितको तेस्रो जनआन्दोलनलाई सशक्त र सफल बनाउन सबै एकजुट भएर अगाडी बढ्नुको विकल्प छैन।’