काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई देशलाई माया गर्न सिकाउँदै बाहिर जाने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रश्नोत्तरमा नेकपा एमालेका सांसद भगवती चौधरीले प्रधानमन्त्रीसँग ‘यति बेला मुलुक युवाविहीन बनिरहेको, कक्षा १२ उत्तीर्ण गर्ने वित्तिकै विदेश गइरहेको, कलेज र विश्वविद्यालय खाली भइरहेको, गाउँघर खाली, कृषि क्षेत्र चौपट भइरहेको भन्दै यसलाई रोक्न सरकारले के गरिरहेको छ ? भन्ने आशयको प्रश्न सोधेकी थिइन्। जसको जवाफमा प्रधानमन्त्री ओलीले सरकारले आवश्यक काम गरिरहेको जवाफ फर्काएका छन्।
‘यही अवसर हुँदाहुँदै पनि बाहिर जाने प्रवृत्ति राम्रो होइन। देशलाई माया गर्न सिकाउनुपर्छ । अर्को बाहिर जाने प्रवृत्ति र बाध्यतालाई रोक्न सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न कार्यक्रम ल्याइरहेका छौँ। युवालाई रोजगारी मात्रै होइन, उद्यमशीलतातर्फ पनि सरकारले सघाइरहेको छ। सस्तो व्याजमा ऋण दिनेदेखि स्टार्टअपमा सघाइरहेका छौँ।’
नेपालको पढाइको स्तर त्यस्तो नराम्रो र दुनियाँमा प्रतिस्पर्धा गर्न नसकिने किसिमको पनि नरहेको बताए। ‘यहाँ शुल्क पनि सस्तो छ। त्यही कोर्सका लागि चर्को शुल्क तिरेर विद्यार्थी गइरहेका छन्,’ उनले भने।
यसलाई अझ प्रभावकारी बनाउन जागरण र व्यवस्थापनका हिसाबले सरकार लागिरहेको उनले बताए। उनले भने, ‘संसार साँघुरो हुँदै गएको छ। ग्लोबल भिलेजको रूपमा। जस्तोसुकै विकसित देशका नागरिक पनि आफ्नो रुचि अनुसार बाहिर जान्छन्। त्यसैले केही बाहिर जाने कुरालाई रोक्न सकिन्न।’
नेपालमा केही चेतनाको कमी र नकारात्मक सोचको फैलावटको भाष्यले पनि चिन्ता समेत रहेको उनले बताए। ‘कलियो मस्तिष्कमा वैराग्य भाव फैलाइया छ। यसमा सचेत नागरिकले आत्मविश्वास र देशभक्ति जगाउनुपर्ने अवस्था छ,’ उनले भने।





