सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२०८१ चैत्र १४, बिहीबार

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

अर्घाखाँची, शितगंगा नगरपालिका-२ भुवनपाटास्थित सडकमा लु.२ ख ३०३ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बस चालक नवलपरासी पश्चिम बर्दघाट बस्ने ५० वर्षीय मदन कुमार विक, बसमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ५० वर्षीया उमा न्यौपाने र ६५ वर्षीया गायत्री न्यौपानेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २४ जनाको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको छ ।

महोत्तरी, सोनमा गाउँपालिका-६ स्थित सडकमा बिआर ३० एसी २३६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ कतरवा टोल बस्ने ५५ वर्षीय किसुनदेव यादवको घटनास्थलमै मृत्यु भएको छ ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-१० स्थित सडकमा बागमती प्रदेश-०१-०३१ च ५००२ नम्बरको कारमा लु.३६ प ८४४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-२ बस्ने ६० वर्षीय खेम राज पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार