काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ६ जना नेताहरूले नेता विमलेन्द्र निधिको निवासमा छलफल गरेका छन्। पूर्वउपसभापति निधिको निवास नयाँ बानेश्वरमा शनिबार उनीहरूले दुई घन्टा छलफल गरेका हुन्।
छलफलमा निधिसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति विजय गच्छदार र पूर्वमहामन्त्री शशांक कोइराला थिए।
नेताहरूबीचको अनौपचारिक छलफलमा चैत १५ गते काठमाडौंमा भएको आगजनी र तोडफोड घटनाको भर्त्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गर्ने कुराकानी भएको थियो।
शुक्रबार तीनकुनेमा राजावादीहरूले प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो भने प्रदर्शन नेतृत्व गरेका दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्र प्रवेश गरेका थिए।
साथै उनीहरूले दोषीमाथि तत्काल कार्बाहीको मागसमेत गरेका छन्। छलफल पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक राजनीति र कांग्रेसको १५ औं महाधिवेशन तयारीलगायत विषयमा पनि कुराकानी भएको थियो।
छलफलमा पार्टीलाई एकताबद्ध गराएर संगठन परिचालन गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको नेताहरूले जनाएका छन्।
यसअघि निधि, सिंह र कोइरालाले छलफल गर्ने गरेका थिए। तर फागुन २ गते सभापति देउवा समूहका ११ जना नेताहरू बूढानीलकण्ठस्थित देउवा निवासमा गएर अबको सभापति उम्मेदवार तोकिदिन आग्रह गरेका थिए।





