काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन्।
आइतबार संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले राज्यले पूर्वराजालाई संविधानले व्यवस्था गरेको भन्दा बढी सुविधा दिएर राखेकोप्रति पूर्वराजाले गम्भीर भएर सोच्नुपर्ने बताएका हुन्।
‘चैत्र १५ गते गम्भीर घटना भएको छ। यो घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन? मान्छे मारिएको घटनामा बोल्नु पर्छ कि पर्दैन? कस्तो राक्षशीता खोेजेको हो?,’ उनले भने, ‘पत्रकार मारिँदै गर्दा दुःख लाग्यो भन्ने विज्ञप्तिसम्म कुनै पत्रिकाले छाप्ने गरी पठाउनु पर्छ कि पर्दैन। व्यक्तिको सम्पत्ति लुटिँदै गर्दा पूर्वराजालाई दुःख लाग्नु पर्छ कि पर्दैन? कतिपय नागरिकले कस्तो राजा खोजेको? यो घटनामा समग्र रुपमा पूर्वराजा दोषी छन्।’








