काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल बेल्जियम प्रस्थान

२०८१ चैत्र २३, शनिबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गरेकी छन्।

बेल्जियममा हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ। युनियनका दक्षिण एसियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक गर्नेछिन्।

यसैगरी संसद सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरूसँग छलफल हुनेछ। यस्तै लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन — ए. डि. आर.) को अभ्यास अवलोकन गर्ने कार्य तालिका छ।

स्थानीय तह (स्थानीय सरकार) का प्रतिनिधिहरूसँग सहरी विकास वितरण र व्यवस्थापन तथा स्थानीय शासन व्यवस्थापन र प्रवर्द्धनमा तहगत दायित्वका विषयमा कुराकानी हुनेछ। यस क्रममा उनले काठमाडौं महानगरपालिकाका सम्भावना र असल अभ्यासका विषयमा जानकारी गराउने कार्यक्रम छ।

यस क्रममा रचनात्मक उद्योगसँग सम्बन्धित कार्यहरू, नेपाली सभ्यता, मौलिक र परम्परागत कला, संस्कार, संस्कृति र सांस्कृतिक सम्पदा गरिमासँग सम्बन्धित विषय समेटिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार