
काठमाडौं : चैत १५ को हिंसात्मक प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवनमा आगो झोस्ने मुख्य व्यक्ति सिन्धुपाल्चोकको बाह्रबीसे- ९ का २७ वर्षीय कुमार तामाङ नै भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
त्यसदिन राजावादी प्रदर्शनका नाममा भएको अराजकतापूर्ण गतिविधिमा संलग्न व्यक्ति पक्राउ पर्ने क्रममा प्रहरीले तामाङलाई सोमबार नियन्त्रणमा लिएपछि उक्त कुरा खुलेको हो । उनी तिनै व्यक्ति हुन्, जो त्यसअघि त्यहीको मुख्य चोकमा ट्राफिक लाइट फुटाउन निकै जोडतोडसँग सक्रिय थिए ।
कुमार पेशाले सवारी चालक हुन् । यातायात व्यवस्था कार्यालय बागमतीबाट उनले सन् २०२१ डिसेम्बर ९ मा ‘बी’ क्याटेगोरीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका थिए । प्रहरीका अनुसार उनी डेलिभरी भ्यानका चालक हुन् । विहान ४ बजेदेखि नै कालिमाटीस्थित तरकारी तथा फलफूल बजार जाने गर्थे । उनले त्यहाँबाट तरकार ल्याएर कोटेश्वर, जडिबुटी, लोकन्थलीतिरका तरकारी पसलमा दिन्थे ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनको डेरा जडिबुटीमै छ, तर १५ गतेको घटनापछि कहिले लोकन्थली त कहिले काँडाघारीतिर साथीकहाँ बस्दै आएका थिए । उनले चलाउने एनसेलको अन्तिममा ९७२७ नम्बर भएकै मोबाइल प्रयोग गर्दै थिए । सोमबार बिहान उनी जडिबुटी चोकबाटै पक्राउ परेका हुन् । साबिक राम्चे गाविस वडा नम्बर ५ र हाल बाह्रबिसे नगरपालिका ९ इटिनी भन्ने ठाउँका कुमार तामाङ केही वर्षदेखि काठमाडौंमा बस्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।
पक्राउ परेपछि शुरुमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरे, तर प्रहरीले भिडियो फुटेज देखाएपछि अक्क न बक्क भए । त्यसपछि ‘मेरा छोराछोरी छन् सर, तिनको मुख हेरेर माफ गरिदिनुस्’ भन्दै रुन थालेको एक प्रहरीले बताए ।