काठमाडौं : धरानको पाँचकन्या सामुदायिक वनमा एक साताअघि मृत फेला परेकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या आफ्नै श्रीमानको योजनामा भएको खुलेको छ।
हत्या योजनामा संलग्न भएको अभियोगमा प्रहरीले श्रीमान् प्रेमबहादुर बुढाथोकीसहित छ जनालाई बिहीबार सार्वजनिक गरेको हो। सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका प्रेमबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद (डिभोर्स) माग्दा अस्वीकार गरेपछि आफन्तलाई प्रयोग गरी हत्या गराएका थिए।
उनी बुधबार कोरियाबाट नेपाल फर्किएपछि काठमाडौंबाट पक्राउ परेका हुन्। हत्या योजनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य व्यक्तिहरूमा प्रेमबहादुरका भाइ ढकेन्द्र बुढाथोकी (२९), ढकेन्द्रकी श्रीमती सृष्टि बुढाथोकी (२५), कान्छा ज्वाइँ योगेन्द्र गौतम (३६), योगेन्द्रकी श्रीमती डेनु गौतम (२८), र केशवराज दाहाल (४०) छन्।
ढकेन्द्र, सृष्टि, डेनु र केशवराजलाई चैत २९ गते घरबाटै, भने योगेन्द्रलाई चैत ३० गते काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भारतीय नागरिक ३५ वर्षीय राजु थापा मगर भने फरार छन्। उनी सृष्टि बुढाथोकीका फुपूका छोरा रहेको खुलेको छ। चुनकुमारीको शव चैत २५ गते धरान उपमहानगरपालिका–६ को पाँचकन्या सामुदायिक वनमा फेला परेको थियो। रुखको फेदमा फित्ता बेरिएको अवस्थामा शव भेटिएको थियो, जसबाट उनको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ।





