काठमाडौं : बुटवल उपमहानगरपालिका बुद्धनगरमा आज बिहान गोली प्रहारबाट गम्भीर घाइते भएकी टीका विष्टको रुपन्देहीमा उपचार नभएपछि चितवन पठाइएको छ ।
पाल्पाबाट बुटवल–११ बुद्धनगर आएर केही समयदेखि विष्टले खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । सधैँजस्तै आज शनिबार बिहान पनि पसल खोलेर सरसफाइ गर्न थालेकी विष्टलाई बिहान ९ बजेतिर भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेका थिए । त्यसपछि स्थानीय जम्मा भएर हल्लाखल्ला गरेका थिए । गोली प्रहार गरेका युवक तत्काल भाग्न भ्याए । विष्टलाई कम्मरमाथि गोली लागेको छ । गोली प्रहार गर्ने भारतीय नागरिक आलम अन्सारी रहेको प्रहरीले खुलाएको छ ।
विष्ट र ती भारतीय केही समयअघिदेखि प्रेम सम्बन्धमा रहेका खुलेको छ । आफूसँग बिहे नगरे विभिन्न धम्की दिँदै विष्टलाई हतियारको पनि तस्बिर पठाउने गरेका थिए । अन्सारी २३–२४ वर्षका र विष्ट २९ वर्षका हुन् । प्रहरीले आमलको ठेगाना अझै स्पष्ट नभएको बताएको छ । इलाका प्रहरी कार्यालय बुटवल डीएसपी इन्द्र बहादुर रानाले आलमले विष्टलाई बिहे नगरे जे पनि गर्ने भन्दै धम्काएका अनुसन्धानबाट खुलेको बताएका छन् ।
गोली प्रहारबाट ती युवा भारततर्फ भाग्न सक्ने भएकाले सीमानाकामा कडा निगरानी राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा एसपी रञ्जित सिंह राठौरले बताए ।





