काठमाडौं : गभर्नर नियुक्तिलाई जोडेर सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ ‘हेर्न नभ्याइने’ मा परेको छ ।
गभर्नर नियुक्तिका लागि उमेर हद नलाग्ने गरी संशोधन भएको मापदण्डविरुद्ध परेको रिटमा अन्तरिम आदेशमाथि छलफल गर्न आइतबार हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर नियुक्तिसम्बन्धी मापदण्ड संशोधन गरेर उमेर नलाग्ने निर्णयविरुद्ध रिट हालेका थिए । त्यसमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरकालीन अन्तरिम आदेश दिँदै आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल गर्न आज पेशी तोकिएको थियो ।
नेपाल राष्ट्र बैंकमै कार्यरत गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी सत्ता गठबन्धनले गरेपछि उनको योग्यतामाथि प्रश्न गर्दै थापा र उपे्रतीले शुक्रबार पुरक निवेदन दर्ता गरेका थिए । दुवै निवेदनलाई एक साथ सुनुवाइ गर्न फुयाल र पाण्डेयको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण नभ्याइएको सर्वोच्च प्रशासनले जानकारी दियो ।





