काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्।
भारतको काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज दूतावासमा आयोजित सभामा उनले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरेकी हुन्। उनले भनिन् , ‘नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ।’
मन्त्री डा राणाले आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताका विरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको पनि स्पष्ट गरिन्। त्यसैले काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको मन्त्री डा राणाले बताइन्।
उनले दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको बताइन्। नेपाल आतंकवाद विरुद्धको लडाइमा भारतसँग काँधमा काँध मिलाएर उभिएको उनले बताइन्। नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै उनले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भनिन्।
उनले भनिन्, ‘हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्छन्। हामी सधैँ खुशी या संकटको समयमा एकसाथ उभिएका छौँ। भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो।’
मन्त्री डा राणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद पनि दिइन्। त्यस अवसरमा मन्त्री डा राणाले सो आतंकवादी हमलामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी थिइन्।





